तपाईंको सवारी साधनको प्रदूषण जाँच गर्दैछौं, मौकाको फाइदा उठाउनु होलाः बालेन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्ना सवारी साधनको प्रदूषण जाँच गराउन महानगरबासीलाई आग्रह गरेका छन्।

ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरपालिकाले सवारी साधनको प्रदूषण जाँच गरिराखेकाले सोको फाइदा उठाउन उनले महानगरबासीलाई आग्रह गरेका हुन्।उनले सवारी साधनको अवस्था ठिक नभए सरसफाइ गराएर ठिक बनाउनु आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘के तपाईको सवारी साधन को अवस्था ठिक छ , प्रदुषणको मात्रा धेरै छ। अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको छौ ।

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।’ मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको बालेनले बताएका छन् ।उनले भनेका छन्, ‘सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।’

सामाजिक सञ्जालमा बालेन लेख्छन्, ‘तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।’


ताजा समाचार