चीनका भूकम्पपीडितलाई नेपाली समुदायको सहयोग
काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत) मा गत मंगलबार बिहान गएको भूकम्प प्रभावितहरुलाई चीनमा रहेको नेपाली समुदायले आर्थिक सहयोग गरेको छ ।
सिचाङको ल्हासामा रहेको नेपाली समुदायबाट संकलित ३७ लाख १७ हजार ५३० रुपैयाँ ल्हासा रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।ल्हासामा रहेका नेपालीहरुको संस्था नेपाली दुःख निवारण कल्याण्कोषले त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा उक्त रकम संकल गरेको हो ।
संकलित रकम ल्हासास्थित रेडक्रस कार्यालयमा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले रेडक्रसका प्रमुख लियो यिदोङलाई हस्तान्तरण गरेका हुन् । डिंग्री काउन्टीमा गएको ६.८ रेक्टर स्केलको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएको जनाइएको छ ।