६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश

पोखरा। जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिर रवि लामिछानेसहितक आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिएका हुन् ।

रविको हकमा न्यायाधीश राईले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । यस मुद्दामा जाहेरवाला र प्रतिवादीका तर्फबाट साता लामो बहस भएको थियो ।

लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेर त्यसको भोलिपल्टदेखि कास्की प्रहरीको हिरासतमा थिए ।

न्यायाधीश राईले लामिछानेसहितका प्रतिवादीलाई रिहा गर्ने आदेश दिएसँगै रास्वपालाई राहत भएको छ ।

यस प्रकरणमा १९ जनाविरुद्ध संगठित अपराध अभियोग लगाइएको थियो। अधिकांशलाई सहकारी ठगी मुद्दा परेको थियो ।

अदालतले आदेश दिने भएपछि रास्वपाका दर्जन आसपास नेताहरू पोखरा पुगेका थिए ।

कार्यवाहक सभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकाल र शिव नेपालीसहित कास्की अदालतअगाडि पुगेका थिए । लामिछाने पत्नी निकिता पौडेल अदालतको प्रतीक्षालयमा थिइन् । अदालत आसपासका क्षेत्रमा रास्वपा र रवि समर्थकको ठूलो भीड थियो ।


ताजा समाचार