काठमाडौँका ९२ सहित देशभर ३८० जना संक्रमित थपिए

काठमाडौँ। वितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ९२ जनासहित देशभर ३८० जना संक्रमित थपिएका छन्।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो। काठमाडौँमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै आइतबार देशभर कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन्। योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ। मन्त्रालयका अनुसार आइतबार प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, बागमती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७ जना संक्रमित उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभरी ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्।

अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन्। आइतबार पीसीआर विधिबाट ८ हजार ५ सय १५ गरी ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण भएको छ।


ताजा समाचार