पक्राउ परेका कलाकारहरुले ‘वान एक्स बेट’बाट लिएका थिए १० देखि ४० लाखसम्म
विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत कलाकारहरुले १० देखि ४० लाखसम्म बुझेको खुलेको छ।
बिहीबार पक्राउ परेका हाँस्यलाकार तथा युट्युबरहरुले अनलाइन जुवा प्रमोशनका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीले बताए।
‘पक्राउ परेकाका ८ जनाले १० देखि ४० लाखसम्म रकम वान एक्स बेटबाट बुझेको भेटिएको छ’, केसीले नेपालखबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाएका छौँ। थप अनुसन्धान भइरहेकाले अझै विस्तृत खुल्न बाँकी छ।’
अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे ९ढेडो बूढो०, भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा ९जिडी० लाई पक्राउ गरेको हो।
‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य बुधबार अपराध अनुसन्धान कार्यालयले फेला पारेको थियो।
बुधबार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १२ जनाको नाममा खाता खोलेर कारोबार गरेको भेटिएको थियो।
सट्टेबाजका रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। केसीले जानकारी दिए।
उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रुपमा सक्रिय अन्य चारजनालाई बुधबारै पक्राउ गरी अनुसन्धान थालिएको थियो।
बुधबार पक्राउ पर्नेमा दिपेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशीष लामिछाने थिए। उनीहरुकै बयानका आधारमा बिहीबार आठजना कलाकार प्रहरी हिरासतमा पुगेका हुन्।