संस्कृत विश्वविद्यालय देशको गहना हो: प्रधानमन्त्री प्रचण्ड

दाङ। प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालय मुलुकको प्राज्ञिक सम्पत्तिको रुपमा स्थापित भएको बताएका छन्।

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन अध्ययनको लागि विश्वभरका विद्यार्थीहरुको उचित गन्तव्य बन्न सक्ने र नेपालको शैक्षिक तथा आर्थिक उन्नयनमा टेवा पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय नेपालको एक ऐतिहासिक प्राज्ञिक थलो रहेकाले यसको विकास र शैक्षिक उन्नयनका लागि सरकारदेखि अभिभावकसम्म सबै उत्तरदायी बन्नु पर्नेमा जोड दिए ।

सरकारले विश्वविद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि सदैव प्रभावकारी काम गर्दै आइरहेको बताउँदै उनले भने, ‘संस्कृत विश्वविद्यालयका चर्चा मित्र राष्ट्र भारतसम्ममा उत्तिकै छ । यसले नेपाल–भारतको शैक्षिक सम्वन्ध, समन्वय समेत गर्दै आइरहेको छ ।’

संस्कृत विश्वविद्यालयमा भारतबाट समेत उच्च शिक्षा अध्ययनका लागि आउने गरेकाले यसको गरिमा र महत्त्व भारतले समेत गर्ने गरेको उनको भनाई थियो ।

उक्त विश्वविद्यालयको संरक्षकसमेत रहेका प्रम दाहालले विद्यार्थी दीक्षित कार्यक्रम नियमित हुनुपर्नेमा केही वर्ष यता रोकिएकाले निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा शिक्षा मन्त्री अशोक राईले नेपाल संस्कृत विश्वविद्यालयका हरेक शैक्षिक कार्यक्रमलाई परिकृत, व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

दीक्षान्त समारोहमा नेपाल संस्कृत विश्विद्यालयका ५७५ जना विद्यार्थीहरु दीक्षित भएका थिए ।


ताजा समाचार