एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुने

काठमाडौं। श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ ।

यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् ।

भारत फाइनलमा पुगेको अवस्थामा फाइनल खेल पनि श्रीलंकामै हुनेछ। क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोका अनुसार सोमबार यसबारे घोषणा हुनेछ। प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।

भारत–पाकिस्तान मतभेदका कारण प्रतियोगिताको आयोजनामै सन्देह भइरहेको समयमा यो महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ ।

दुई देशबीचको समस्याले भारतमा यसै वर्ष आयोजना हुन लागेको आईसीसी एकदिवसीय विश्वकपमै असर पर्नसक्ने सम्भावना थियो । सन् २०२५ मा पाकिस्तानले नै च्याम्पियन्स ट्रफी पनि आयोजना गर्दैछ । यो निर्णयले पाकिस्तानले विश्वकप आगमन पनि सहज हुनेछ ।

यस संस्करणको एसिया कपमा नेपालको पनि चासो थियो । नेपालले पहिलोपल्ट एसिया कप खेल्न लागेको छ । समूह ए मा नेपाल टिम भारत र पाकिस्तानसँगै परेको छ। नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ ।

भारत र पाकिस्तानले एकअर्काको देशमा यात्रा गर्न अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सुरुमा दुवईलाई तटस्थ भूमिका रुपमा प्रयोग गर्न आग्रह गरेको थियो । तर, बंगलादेशले सेप्टेम्बरमा मध्यपूर्वमा हुने चरम गर्मी अवस्थाबारे चिन्ता व्यक्त गरेको थियो । त्यसपछि श्रीलंकाले आफ्नो देशमा आयोजना गर्न प्रस्ताव गरेको थियो ।


ताजा समाचार