चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १५ सय
काठमाडौँ। चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएका छन्। योसँगै देशमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ।
अहिले कोभीड–१९ नाम दिइएको यो भाइरस हुबेईको उहानबाट गत डिसेम्बरको अन्त्यमा उत्पत्ति भएको मानिएको छ। यस भाइरसबाट थप ४ हजार ८ सय २३ जना संक्रमित बनेका छन्। अहिले प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् भने देशभर यो सङ्ख्या ६५ हजार नजिक पुगेको छ।
हालसम्म २५ देशमा यस रोगको रोगको संक्रमण फैलिएको छ। हालसम्म चीनभन्दा बाहिर हङकङमा एक जना र फिलिपिन्समा एक जना तथा जापानमा एक जनाले ज्यान गुमाएका छन्।
हुबेइ प्रान्तमा ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले प्रान्तका प्रमुखलाई पदबाट हटाएको छ। सिन्ह्वाका अनुसार जियाङ चाओलियाङको स्थानमा संघाईका पूर्व मेयर यिङ योङलाई हुबेई प्रान्तीय कमिटीका नयाँ सेक्रेटरी चयन गरिएको छ। एजेन्सी




