नेपाल व्यवस्थापन संघले राष्ट्रिय व्यवस्थापन सम्मेलन

काठमाडौँ। नेपालका व्यवस्थापकहरुको छाता संस्थाको रुपमा रहेको नेपाल व्यवस्थापन संघले यही माघ २४ गते ३९औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन, बार्षिक साधारण सभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एशियाली व्यवस्थापन संघद्धारा आयोजित एशियाली नेतृत्व पुरस्कार साँझ २०२० आयोजना गर्ने भएको छ।

संघले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो। पत्रकार सम्मेलनमा संघका प्रथमा उपसभापति बमबहादुर मिश्रले दिनुभएको जानकारी अनुसार यस बर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य नारा तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ।

व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत गरिने छन र आवश्यक टिप्पणी र सदनको सुझाव सहित पारित गरेर यसको समापन हुनेछ। अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न हुने यो सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ।

नेपाल व्यवस्थापन संघका सभापति एवम् राष्ट्रिय योजना आयोगका माननीय सदस्य ई.सुशील भट्टको सभापतित्वमा संघको वार्षिक साधारण सभामा संघका महासचिव श्री मोहनराज ओझाले संघको बार्षिक प्रगति विवरण पेश गर्नुहुनेछ भने कोषाध्यक्ष दीलिपराज पौडेलले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। साधारण सभाले आगामी बर्षको लागि नीति,कार्यक्रम र बजेटको तर्जुमा गर्नुको साथै लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै बार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ। त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ।


ताजा समाचार