मनोरञ्जनका लागि समाचार पढे पुग्छ: प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षि दल कांग्रेसको कडा आलोचनामा उत्रिदै राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्। प्रधानमन्त्री ओलीले एअपोर्टमा राष्ट्रपतिलाई सोफामा राखेर तस्बिर खिचाएको विषयलाई लिएर सामाजिक सञ्जालमा अनाश्वक प्रचार गरिएको बताए।
राष्ट्रपतिको बचाउ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मनोरञ्जनका लागि फिल्म हलमा जानुपर्ने अवस्था हटेको छ। मनोरञ्जनका लागि समाचारहरु पढे पुग्ने भयो। अचेल आउने समाचारहरुले मनोरञ्जन दिइरहेका छन्।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि नेपाली सेनाले किनेको हेलिकप्टरभित्रै सोफा लिएर हिँड्न थालेको भनेर मिडियामा आएको समाचारप्रति पनि कडा असन्तुष्टि व्यक्त गरेका हुन्।
त्यस्तै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउने दाबी गरेका छन्। राजधानीको सभा गृहमा अखिल नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली यस्तो दाबी गरेका हुन्। प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारका राम्रा कामको समेत आलोचना गरेको भन्दै यस्तो दाबी गरेका हुन्।
उनले भने, ‘सरकारका राम्रा कामलाई कांग्रेसले नकारात्मक रुपमा प्रचार गरिहेरको छ। आगामी निर्वाचनमा पनि नेकपाले दुई तिहाईको स्पष्ट बहुमत ल्याउछ। स्पष्ट दुई तिहाई मत ल्याउनबाट कसैले रोक्न सक्दैन। कसैले नेकपालाई रोक्ने सपना देखेको भए अहिलेदेखि नै तयारी थाले हुन्छ। अचेल नेकपा सरकारका राम्रा पक्षलाई पनि नराम्रो रुपमा प्रचार गर्ने काम हुँदैछन्।’
ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरे। नेकपाले नै संघर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।
पार्टीका महिला नेता कार्यकर्तालाई आफ्नो संगठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए।आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक पार्टीको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत गरेको उनले बताए।
त्यसलाई अध्ययन गरी प्रचार गर्न महिला नेत्रीलाई ओलीले आग्रह गरे। छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मन मस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै ओलीले विद्रोह र संघर्षलाई सही बाटोबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि उनको भनाइ छ।




