कांग्रेस विशेष महाधिवेशन: ६३ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर

काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन्।

विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए। सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘६३ प्रतिशत हस्ताक्षर कट्यो। प्रतिनिधि अझै आउनेक्रम जारी छ। हामी ७० प्रतिशत पुर्‍याएर देखाइदिन्छौं।’

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरूले असहमति राखिरहेका छन्। यता विशेष महाधिवेशनमा भने बन्दसत्रको काम अघि बढिसकेको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्र सकिएको छ। प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार आजको बन्दसत्र सकिएको हो।

समूहगत प्रस्तुति भोलि (मङ्गलबार) बिहान ९ बजेपछि गर्ने गरी आजलाई बन्द सत्र सकिएको उनले बताए। महाधिवेशन लम्बिएसँगै अब मंगलबार नै नेतृत्व चयन हुनेछ।


ताजा समाचार