अन्तराष्ट्रिय महिला च्याम्पियनसिप : फाइनल खेलमा नेपाल म्यानमारसँग २ गोलले हार्यो

काठमाडौँ । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो।

खेलमा नेपालले म्यानमारमाथि केही दबाब बनाए पनि गोल निकाल्न भने सकेन। नेपालले खेलमा गोल गर्ने केही अवसर सृजना गरे पनि म्यानमारको बलियो डिफेन्स लाइन तोड्न नसक्दा नेपाल उपविजेतामा सिमिति बन्न पुग्यो।

म्यानमारको जितमा यु पर खिन र कप्तान विन थेंगी टेनले गोल गरे। खेलको ६२ औँ मिनेटमा म्यानमारकी यु पर खिनको गोलमा म्यानमारले सुरुवाती अग्रता बनायो। डीबक्स नजिकबाट एक्लैले अघि बढाएको बललाइइ खिनले सेकेण्ड बार च्याप्दै बललाई पोष्टको गति दिएकी थिइन्।

खेलको ६४ औँ मिनेटमा फ्यु फ्यु विनको फ्रिकीकमा कप्तान विन थेंगी टेनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन्। खेलको इन्ज्युरी समयमा साम्बाको फ्रिकीक प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाइन्।


ताजा समाचार