ओडिसा घटनापछि भारत सरकारले भन्यो : नेपाली विद्यार्थीको सुरक्षाका लागि प्रतिबद्ध छौँ
काठमाडौँ। भारत सरकारले ओडिसामा भएको नेपाली विद्यार्थी मृत्युको घटना दुस्खद् भएको बताएको छ। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछिको अवस्था शान्त बनाउन दुई देशले खेलेको कूटनीतिक भूमिकाको प्रशंशा गरे।
‘नेपाली विद्यार्थीको दुखद् निधन भयो। मृतकप्रति श्रद्धान्जली, उनको परिवारमा समवेदना,’ उनले भने, ‘भारत सरकार आफ्नो देशभर सबैले सुरक्षाको प्रत्याभूति गरुन् भन्ने चाहन्छ।’ उनले ओडिसा सरकारले पनि नेपाली विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै फर्किन आग्रह गरेकोले भारत सरकारले पनि त्यसलाई समर्थन गरेको सुनाए। घटनामा संलग्न भएकाहरूलाई ओडिसा प्रहरीले नियन्त्रणमा लिएर कारबाही फाइल अघि बढाइसकेको उनको भनाइ छ।




