१४ दिनको बसाइँ सकेर भारत फर्किन कथा वाचिका देवि प्रतिभा

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरस्थिपत वनकाली हंसमण्डप क्षेत्रमा लगाइएको कोटीहोममा कथा वाचनका क्रममा देवी प्रतिभा भन्थिन्, ‘प्यार से बोलोना’ ‘थोडा जोर से बोलोना’ ‘मस्तिमे बोलोना’ । उनको कथा वाचन शैलीले सहभागी मन्त्रमुग्ध हुन्थे, ताली बजाउँथे । तर उनै देवी प्रतिभा विवाद र आलोचनाको भारीसहित भारत फर्किएकी छन् ।

१४ दिनसम्मको नेपाल बसाइका क्रममा उनी जन्मभूमि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पुगेर अभिनन्दन थाप्न पनि भ्याइन् ।


कोटीहोममा कथा वाचिकाका रुपमा आएकी देवी प्रतिभाले सानै उमेरमा मोहित पार्ने गरी कथा वाचन गरेको भन्दै उनलाई प्रशंसा गर्ने जमात पनि नेपालमा बढेको छ ।

२२ वर्षीय उनी १४ दिन बसाइपछि मंगलबार त्रिभुवन विमानस्थल हुँदै भारततिर फर्किँदा उनले जन्मभूमिलाई ढोगिन् । विमानस्थलबाट बिदाइ हुने क्रममा झुकेर भुइँमा ढोगेकी उनी केही विवाद र गुनासाका पोका लिएर भारतरतिर लागिन् ।

भारत फर्कने क्रममा त्रिभुवन विमानस्थलको भुइँ ढोग्दै देवी प्रतिभा

१४ दिन नेपालमा बस्दा उनले बहुतै चर्चा बटुलिन् । उनका कारण राधिका दासी र दीनबन्धु पोखरेल जस्ता चर्चित कथावाचक पनि छायामा परे । वनकालीको ब्यासबाट कथा वाचन गरिरहँदा उनले विवाहित महिलाबारे गरेको टिप्पणीका कारण आलोचना भोग्नुपर्‍यो । हिन्दु र सनातन संस्कृतिमा ‘डिभोर्स’भन्ने शब्द नै नभएकाले पति जति नै खराब भए पनि महिलाले सहेर बस्नुपर्ने आशयसहित उनले दिएको अभिव्यक्तिको कडा आलोचना भएको छ ।

कतिपयले पुराणमा लेखिएका कुरालाई लिएर उनले ठीकै भनेको बताएका छन् भने अन्यले वर्तमान नेपाली समाजका लागि उनको भनाइ अपाच्य हुने बताएका छन् । आफूलाई कट्टर हिन्दु बताउने एउटा जमातले उनको समर्थन पनि गरिरहेको छ ।


ताजा समाचार