आजकै दिन भारतमा पहिलो महिला राष्ट्रपति
काठमाडौँ। सन् २००७ मा आजकै दिन (जुलाई २५) मा प्रतिभा पाटिल भारतको राष्ट्रपति बनेकी थिइन् । उनी भारतको पहिलो महिला राष्ट्रपति हुन् ।
सन् १९३४ डिसेम्बर १९ मा महाराष्ट्र राज्यको जलगाउँमा जन्मिएकी पाटिलले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । त्यसपछि कानुन विषय अध्ययन गरेकी पाटिल १९६२ मा भारतीय राष्ट्रिय कंग्रेसबाट महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिइन् ।
पाटिल १९८५ मा माथिल्लो सदन राज्यसभामा निर्वाचित भएकी थिइन् । १९८६ देखि १९८८ सम्म उनी राज्यसभाकी उपाध्यक्ष थिइन् । १९९१ मा उनी तल्लो सदन लोकसभामा निर्वाचित भइन् । २००४ मा उनी राजस्थान राज्यकी गभर्नर बनेकी थिइन् ।
गान्धी परिवारसँग लामो समयदेखि निकट रहेकी पाटिललाई कंग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीले उनलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेकी थिइन् । उनले २००७ जुलाई २५ देखि २०१२ जुलाई २५ सम्म भारतको १२ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेकी थिइन् । एजेन्सी



