चीनको मध्यस्थतामा हमास र फताहले गरे मिलेर जाने सहमति

एजेन्सी। हमासले मंगलबार बेइजिङमा फताहलगायत अन्य प्रतिद्वन्द्वी प्यालेस्टिनी संगठनसँग ‘राष्ट्रिय एकता’ का लागि मिलेर काम गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

हमासका वरिष्ठ अधिकारी मुसा अबु मर्जुक, फताहका प्रतिनिधि महमुद अल–अलौललगायत १२ प्यालिस्टिनी समूहहरूले बेइजिङमा भेटेर इजरायलको आक्रमण अन्त्य भएपछि गाजामा शासन गर्न ‘अन्तरिम राष्ट्रिय मेलमिलापको सरकार’ गठन गर्न सहमत भएको चिनियाँ विदेशमन्त्री वाङ यीले पुष्टि गरे । अबु मर्जुकले वाङलगायत अधिकारीसँगको भेटमा राष्ट्रिय एकताको सम्झौतामा हस्ताक्षर गर्दै राष्ट्रिय एकताका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

गाजापट्टीमा शासन गर्दै आएको हमास र वेस्ट बैंकलाई आंशिक रूपमा शासन गरिरहेको फताहबीचको तीव्र प्रतिस्पर्धाका कारण प्यालेस्टिनी मुद्दा थप जटिल रहेको सन्दर्भमा चीनले मध्यस्थताको भूमिका खेल्न खोजेको छ ।

बेइजिङमा मंगलबारको बैठकपछि, वाङले दुवै समूह ‘मेलमिलाप’का लागि प्रतिबद्ध रहेको टिप्पणी गरे । बेइजिङले प्यालेस्टिनी स्वशासन प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनको पूर्ण सदस्यता आह्वान गरेको वाङले उल्लेख गरे । गाजापट्टीमा सन् २००६ मा सम्पन्न चुनावमा हमासको जितपछि भड्किएको हिंसात्मक झडपपछि हमासले फताहलाई सो क्षेत्रबाट निष्कासन गरेको घोषण ग¥यो । त्यसपछि दुई समूहबीच सम्बन्ध तिक्त रहँदै आएको छ ।


ताजा समाचार