नेप्से २७ अंकले घट्दा १६ अर्बको सेयर कारोबार
काठमाडाैं । नयाँ सरकार गठनपछि लगातारजसो बढिरहेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.३२ अंकले घटेर दुई हजार पाँच सय ३६.११ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स १.३६ प्रतिशत र फ्लोट इन्डेक्स ०.९० प्रतिशतले घटेको छ।
आज ३११ कम्पनीका चार करोड सात लाख ४७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि पछिल्ला ६ दिनमा १२ अर्बदेखि १५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदै आएको थियो।
आज १९४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ४६ कम्पनीको मूल्य मात्रै बढेको छ। बजार ओरालो लाग्दा बोटलर्स नेपाल (तराई), एसियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चिरख्वा हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य क्रमशः सात र ६ प्रतिशतभन्दा धेरैले घटेको छ।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये फाइनान्स १.१६ प्रतिशत र होटेल तथा पर्यटन ०.१३ प्रतिशतले बढ्दा बाँकी सबै उपसमूहको सूचकमा गिरावट आएको छ। पछिल्ला केही दिनमा सबैभन्दा धेरै वृद्धि हुँदै आएको व्यापार उपसमूह आज पनि सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ। यसैगरी, बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी उपसमूह एक प्रतिशतभन्दा कमले घटेका छन्।
आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। यस कम्पनीको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार सेयर संख्याका आधारमा १३ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको अप्पर तामाकोसी शीर्ष स्थानमा छ। नयाँ पत्रिका



