सम्पादकीय: अब यस्तो कहिल्यै नहोस्
इतिहासज्ञ शिरोमणी बाबुराम आचार्यले लेख्नुभएको पुस्तकको नाम हो ‘अब यस्तो कहिल्यै नहोस’ । आचार्यले उक्त पुस्तकमा पृथ्वीनारायण शाहदेखि राणा साशन अन्त्य भएसम्मका घटनाहरूको मिहिन ब्याख्या गरेका छन् । यो किताबमा उल्लेख गरिएका घटना परिघटनाहरू पढ्दा ओहो ! यस्तो पनि भएको रहेछ भन्ने लाग्छ । प्रतापसिंह शाहको मृत्यु, राजेन्द्रलक्ष्मी र बहादुर शाहबीचका खटपटले निम्त्याएको कोतपर्व, त्यस घटनादेखि नेपालले भोग्नुपरेको हत्या, अशान्ति आज पनि जारी छ । खैर, नेपालको राजनीतिक इतिहासमा यस्ता तामाम घटना घटेका छन्, जसको ब्याख्या आजको आवश्यकता होइन । आज यहाँ चर्चा गर्न खोजिएको विषय भनेको नयाँ पुस्ताको आन्दोलन (जेनजी आन्दोलन) को हो । २०८२ भाद्र २३ र २४ गते जीवित नेपालका निम्ति कहाली लाग्दो दिन हो । बैदेशिक स्वार्थ र मौका कुरिरहेका प्रतिगामीहरूको निम्ति खुशीको दिन थियो । ती दुई दिन असली नेपालीका निम्ति असह्य दिनका रूपमा रहेका छन् । किन कि नेपालले यसअघि जतिपनि बाधा, संघर्ष ब्यहोर्नु प¥यो, त्यो अब कहिल्यै भोग्न पर्दैन भन्ने संविधानको मर्म र भावनाको खिलापमा उभिएको दिन थियो । संविधानकै अधिनमा रहेर मुलुकलाई शान्तिपूर्ण ढंगले अगाडि बढाउने व्यवस्था थियो । तर, पुराना दलका शीर्ष नेताहरूको म्युजिकल चेयर खेलका कारण जेनजी आन्दोलन भयो ।
कलिला भाईबहिनीहरूले भ्रष्टचार अन्त्यको माग गरेर सुरू गरेको आन्दोलनमाथि राज्यको क्रुर दमन र त्यसको प्रतिक्रियामा भएको आगजनी, तोडफोड कहालि लाग्दो भयो । एकैछिन अघि खुलेको काठमाडौँसहित देशको आकाश राष्ट्रिय सम्पत्ति जलेको धुँवाले कालो बन्यो । पहिलो र दोस्रो दिनमा दर्जनौं मानिसहरूले अनाहकमा ज्यान गुमाउनु पर्यो । साथै आँखै अगाडि देश खरानी बन्यो । यस्तो दिन कुनै पनि पुस्ताका नेपालीहरूले देख्न नपरोस् भन्ने सबैले कामना गरे । यो हदको दुःखको सामना गर्न नपरोस् । २३ गते राज्यले गल्ति गर्यो । भाद्र २४ गते आन्दोलनकारीले । युवाहरूको जीवन समाप्त भएको र देश खरानी बनाएको बारेमा लेख्नपर्ने दिन आउला भन्ने कल्पनासमेत गरिएको थिएन । जेनजी र जेनजीको समर्थनमा सडकमा आएका घुस पैठवालाहरूले एक दिनमै देश जलाएर खरानी बनाए । जुन क्षतिको यकिन अहिलेसम्म भएको छै । जेनजी पुस्ताको आन्दोलन ठिक थियो, तरिका ठिक थिएन । कुनै पनि आन्दोलन असंगठित र नेतृत्व विहिन हुनु नै देशको दुर्भाग्य बन्यो ।
कुनै पनि आन्दोलन र क्रान्तिमा क्षति हुन्छ, मानविय र भौतिक क्षतिबिना नयाँ निर्माण हुँदैन । तर, हाम्रो देश जुन गतिमा अघि बढिरहेको थियो, यो स्थितिमा यो प्रकारको विध्वशं आवश्यक भने पक्कै थिएन । सबै लोकप्रियता र सतही कुरालाई मात्रै सही मान्ने हो भने हाम्रो भन्नु केही छैन । तर, तत्थ्य र प्रमाणले सत्यको खोजि गर्ने हो भने वर्तमान संविधानले यो प्रकारको ध्वंशको परिकल्पनासमेत गर्दैन थियो । भाद्र २३ र २४ गते जे भयो, नहुनुपर्ने भयो । शान्तिपूर्ण बाटो र वैधानिक बाटोबाट पनि समस्या समाधान हुन्छ भन्ने कुरा जेनजीहरूले बुझ्न सकेनन् । राज्यले यत्रो खसाप हुन्छ भन्ने पूर्वानुमान गर्न सकेन । सामाजिक सञ्जाल फेशबुक बन्द गरेकै कारण उत्पन्न भएको आन्दोलन थियो । त्यसमा केही राष्ट्रिय मुद्धा थपिएका थिए । अदालतको आदेश र सरकारी निर्णय अस्विकार गरेको समाजले राज्य सत्ता, अदालत र संसद एकै पटक खरानी बनायो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकैसाथ ध्वस्त हुँदा देश राज्य विहिनताको अवस्था आयो । जनता राज्यविहिन बने । सरकार थिएन । प्रहरी छैन । कर्मचारी थिएन । जनता त्रासमा बाँच्न बाध्य थिए । देशमा यस्तो शून्यता, विध्वशं र नरसंहार कहिल्यै नहोस् ।




