सन्न्यास लिनेबारे मेस्सी भन्छन्- यो त भगवानलाई मात्र थाहा छ

काठमाडौं। अर्जेन्टिना फुटबल टीमका कप्तान लियोनल मेस्सीले आफ्नो १९ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय खेल जीवनमा पाँचौँ पटक कोपा अमेरिकाको फाइनल खेल्दैछन्। फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ।

मेस्सीले तीन वर्षअघि कोपा अमेरिकाको उपाधि जितेका थिए। त्यसपछि, उनले अर्जेन्टिनालाई विश्वकपको उपाधि पनि दिलाएका छन्। यसपटक पनि मेस्सीले कोलम्बियालाई हराएर अर्जेन्टिनालाई पुनः उपाधि दिलाउने दाउमा छन्।

मेस्सीको सन्न्यासबारे अनुमानहरु भइरहेको भए पनि, उनी आफैँले भने सन्न्यास लिने कुनै योजना नरहेको बताएका छन्। सेमिफाइनलमा क्यानडालाई हराएपछि सन्न्यासबारे सोधिएको प्रश्नमा मेस्सीले भने, ‘मैले पहिले पनि भनिसकेको छु कि म निरन्तरता दिन चाहन्छु। म भविष्यबारे नसोची हरेक दिन बाँच्न चाहन्छु। म अहिले ३७ वर्षको भएँ र अन्त्य कहिले हुने छ भन्ने भगवानलाई मात्र थाहा छ।’

मेस्सी सन् २००५ देखि अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीमा छन्। उनले उमेरस्तरमा यू(२० विश्वकप र यू(२३ टोलीबाट ओलम्पिक स्वर्ण जितेका थिए। सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलसम्म पुगेर पनि उपाधि जित्न सकेका थिएनन्। यस्तै, सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुगेर जर्मनीसँग पराजित भएको थियो।

सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै कोपा अमेरिका जितेको थियो। यो उपाधि अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि जितेको थियो। डेढ वर्षअघि अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर ३६ वर्षपछि विश्वकप जित्दा मेस्सी फेरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

मेस्सीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका छन्। जारी प्रतियोगितामा उनले एक गोल र एक असिस्ट गरेका छन्। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने मेस्सीलाई अझै टिममा रहेको हेर्न चाहन्छन्। ‘म उनी यति चाँडै सन्न्यास लिउन् भन्ने चाहन्नँ किनभने हामी अहिले नै रुन चाहन्नौँ,’ स्कालोनीले भने।

मेस्सीको करियरले अझै धेरै वर्ष फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउन सक्छ।


ताजा समाचार