टी–२० विश्वकप : उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि शनिबार दुई प्रभावशाली टेस्ट राष्ट्र भारत र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ । फाइनल खेल क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।
भारत १० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । भारत यसअघि सन् २०१४ मा टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला भारतीय टोलीलाई फाइनलमा श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो ।
अर्कोतिर, पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका यसअघि दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा भारत अगाडि देखिन्छ । पछिल्लो वरीयतामा भारत पहिलो स्थानमा आसीन छ । उक्त वरीयतामा दक्षिण अफ्रिका भने पाँचौँ स्थानमा छ ।