मुस्ताङमा भारतीय लगानीमा गुम्बा विद्यालयको छात्राबास बन्ने, राजदूतले गरे शिलान्यास

काठमाडौं।  मुस्ताङस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवन शिल्यान्यास गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको शुक्रबार संयुक्त शिलान्यास गरे ।

‘नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको नेपाली रुपैयाँ ४ करोड १४ लाखको आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूसमेत उपस्थित थिए ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्यक्ष र दलका प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न नयाँ भवन उपयोगी हुने बताइएको छ।


ताजा समाचार