स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण रहेको कलाकार
काठमाडौं । केही दिनअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई लिएर नेपाल कलाकार संघले असन्तोष प्रकट गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा नकारात्मक प्रभाव पारेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘हालै एक टेलिभिजन कार्यक्रममा सहभागी कलाकारको अशोभनीय र गैरजिम्मेवार अभिव्यक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ। यसले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा नकारात्मक असर पुर्याएको हाम्रो ठहर छ। आफ्नो स्वतन्त्रता र अधिकार प्रयोग गर्दा अरुको मानमर्दन गर्नुहुँदैन भन्ने सामान्य मान्यतालाई समेत उल्लंघन गरिएको छ। एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु र मानमर्दन गर्नु अन्यायसंगत छ।’
संघले यसअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरीत अभिव्यक्ति दिएकोमा सचेत गराइसकेको र वर्तमान सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर पार्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन अनुरोध गरेको छ।