श्री एयरलाइन्सले थप्यो ८० सिटको जहाज
काठमाडौँ। श्री एयरलाइन्सले डि हाविल्यान्ड अफ क्यानाडा (तत्कालीन बम्बार्डियर) द्वारा निर्मित ८० सिट क्षमताको विमान थप गरेको छ, जसको कल साइन ९ एन-एओएम रहेको छ।
यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेको यो क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित, र कम ध्वनी आउने किसिमको रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो विमानमा क्यानाडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० शाफ्ट हर्षपावरका पीडब्ल्यू १५० ए इन्जिन जडान गरिएको छ।
श्री एयरलाइन्सका पाइलटले अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसल्यान्डको केफ्लाविक, चेक गणराज्यको प्राग, इजिप्टको काइरो, र ओमानको मस्कट हुँदै झन्डै ३३ घण्टाको उडान पूरा गरी आज बिहान १ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ल्याएका हुन्। यो क्रममा तीन रात्री बिसान गरिएको थियो।
हाल, श्री एयरलाइन्सले सीआरजे २००, सीआरजे ७००, तथा क्यु ४०० ड्यास सहित १० वटा विमानबाट यात्रु सेवामा जुटिरहेको छ। यी विमान काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत लगायतका गन्तव्यमा उडान भर्दछन्।