अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
काठमाडौँ। अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले ४९ रनको शानदार जीत हासिल गरेको छ। विश्वकप क्रिकेटको तयारीमा जुटेको नेपालले गएराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो।
पार्कहिल मैदानमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो। जवाफी ब्याटिङमा विनवार्डसले १८.४ ओभरमा मात्र १३० रन बनायो।
नेपालका लागि अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले। कप्तान रोहित पौडेलले ४१ रन र कुशल भुर्तेलले ३८ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा, प्रतिश जिसीले ६ रनको योगदान गरे। सन्दीप जोराले २ रन र गुल्सन झाले १ रन बनाए भने सोमपाल कामीले ३ रन र अविनाश बोहोराले खाता नखोली नटआउट रहे। सुरुवातमै आशिफ शेखलाई गुमाएपछि नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारीमा टिकाएका थिए।
विनवार्डसका निकोलस रेडहड, साडरक डेसकार्ट, र डेरिन नेडले २/२ विकेट लिए। १८० रनको लक्ष्यसहित मैदानमा उत्रिएको विनवार्डसले राम्रो सुरुवात गरे पनि मध्यक्रम फ्लप भयो। पहिलो विकेटका लागि किमानी मेलियुस र अकिम अगस्टीले ७३ रनको साझेदारी गर्दै नेपाली बलरमाथि दबाब बढाएका थिए। भुर्तेलले मेलियुसलाई सन्दीप जोराबाट क्याच आउट गराउँदै उक्त साझेदारी तोडे।
मेलियुसले २७ बलमा ५० रन बनाएर पभेलियन फर्किए। त्यसपछि नेपालले खेलमा पुनः नियन्त्रण लिँदै अन्य खेलाडीलाई हाबी हुन दिएन। अगस्टीले १८ बलमा २५ रन बनाए। उनलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच आउट गरे। लेरी एडवार्डले १४ बलमा १२ रन र डिलोन डगलसले ८ बलमा ११ रन बनाए।
नेपालका गुलसन झा र कुशल भुर्तेलले ३/३ विकेट लिए। गुलसनले ३ ओभरमा १८ रन खर्चे भने भुर्तेलले ३ ओभरमा १२ रन दिए। सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, र अभिनाश बोहोराले समान १ विकेट लिए।
यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। नेपालले अब शनिबार तेस्रो अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गर्ने छ। अमेरिकाको ह्युस्टनमा नेपालले प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ।