सुन्धारामा ‘महाजात्रा’ हेरेपछि ओलीले भने: फिल्म राम्रो लाग्यो, मानिसलाई सप्रन प्रेरणा दिन्छ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ राम्रो लागेको बताएका छन्।

सोमबार बेलुकी श्रीमती राधिका शाक्य तथा एमाले नेताहरूसँग सुन्धाराको सिटिसी मलस्थित सीडीसी सिनेमाजमा फिल्म हेरेपछि ओलीले फिल्म निकै मन परेको प्रतिक्रिया दिएका हुन्।

‘फिल्म राम्रो लाग्यो। मुख्य रूपमा फिल्ममा हेर्ने भनेको कथा र अभिनय हो। कथा जसले सन्देश दिन्छ, त्यो सन्देश सम्प्रेषण गर्नका लागि दोस्रो महत्त्वपूर्ण कुरा हो- अभिनय’, ओलीले भनेका छन्, ‘यसमा अभिनय पनि सशक्त छ। र, कथा पनि सम्प्रेषण गर्न लायकको छ। जसले मानिसहरूलाई सप्रन प्रेरणा दिन्छ।’

यस्तै उनले ‘महाजात्रा’लाई १० नम्बरमा ९.५ नम्बर दिएका छन्। उनले भने, ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ।’

यस क्रममा एमाले अध्यक्ष ओलीले कलाकार हरिवंश आचार्यको अभिनयको तारिफ पनि गरे।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ कोमल वलीसहित ४० जना एमाले नेताको टोली ‘महाजात्रा’ हेर्न गएको थियो।


ताजा समाचार